Thursday, July 4, 2013

मुक्तक

मुक्तक
मान्छेहरू बदलिन्छन् समयसँगै
सोचहरू बहकिन्छन् समयसँगै
अरे यार समय कुर्नु- तिमी बग्नु हो
र त मान्छे आँत्तिन्छन् समयसँगै

Wednesday, May 23, 2012


कविता-“फर्केर हेर्दा डायरीका केही पेजहरु”
धेरै पछि आज पल्टाइरहेछु मनको अभ्यस्त डायरी
जहा, देखिइरहेछन्
शव्द भावमा चुर्लुम्म डुबेका
दर्जनभन्दा केही बढी
काचा अर्थात् 
अपरिपक्व पत्र बिन्यासहरु!!
थोरै हलुकिन्छ मन
आभासलाई कोल्टे फर्काउँछु
खोलीको सुख्खा बगरमा
चपली डाम सजाउँदै
उनको लेक- मेरो बेसी
मेरो बेसी-उन्को लेकसम्मका
  सुसज्जित यात्रात्मक मझेरीहरु!!
अर्को पेज पल्टाउछु
आश्चर्य लाग्छ,
म “प्रेमी” भइसकेको हुन्छु कसैको
हलक्क बढेका बासका मुनासरी
मेरा दुधे ओठहरुले
प्रेम फड्कार्न थालेको पाउछु
प्रेम बर्बराउन थालेको पाउछु
उनी पनि आफूजस्तै तन्नेरी भएको पाउछु
अर्को पेजभित्र
उनको भैलोमा 
भैलेनीको पगरी गुथी
कुसुमटारको फेदबाट 
केही घर भैलेनी नाची
सयपत्रीका केही झोक्काको 
प्रेमील आभास पिउदै
अरु भैलेनीवाट छलिए
र जुनकिरी बाल्दै
घरमुनीसम्म पुगेको 
कत्ति काइदाको दृश्य!!
अर्को पेजमा दौडिरहेछु म
घरै छेउबाट बिदाइ गर्छे मलाई ऊ
अब अरुकी नहुने कसम खादै
त्यसपछि तीन वर्ष छिमली 
म आफूलाई शब्दाकार पाउछु
बिलीनतापछि होसमा आएको “ध्यानी” झै
अर्को पेजमा,
म निसास्सिरहेछु
कुसुमटारको अन्तिम हासो बोकी
  ठिङंग उभिइरहेछे ऊ
सम्झन्छु त्यो चित्र जस्ताको तस्तै म
यस्तो लाग्छ- ऊ तामाजस्ती बढिसकी होली
तरुनी भइसकी होली
पुतलीजस्ती सुकुमारी भइ सायद !
तरपनि अभ्यस्त भेट !
कताकति हत्केलाहरु
तस्बीर सुम्सुम्याउन पुगिरहेछन्
त्यही तस्विर,
जुन उसले मलाई चैते दशैको मेलामा
उसको लेक जादा 
मलाई उस्को छातिमा टमक्क कसी
उपहार दिएथी-सम्झनाको-बिर्सनाको !!
ऊ थोरै काउकुतिएजस्तो लाग्छ
थोरै सर्माएजस्तो लाग्छ अनि लाग्छ 
उस्को जस्तै कलिलो जवानीको रहर मलाई
तर...............।।

दिनेशराज पुरी
सुनारपानी-९ रामेछाप

Sunday, September 4, 2011

गजल

गजल – या सो सरह
कोही छन् विलासी पजेरोमा खुशी छन्
कोही आफ्नै पाखा पखेरोमा खुशी छन्

उस्तै छ बिकटता कर्णाली र हुम्लाको
कति गाह्रो साह्रो अप्ठेरोमा खुशी छन्

शहरमा मेलम्ची नबग्ने भो कहिल्यै
उता गाउँको पानी पँधेरोमा खुशी छन्

यी हाम्रा नेता जी बेचैन छन् बिचरा!
तर जनता झुप्रो कटेरोमा खुशी छन्

हामी भन्दै आउने लखेटिन्छन् यहाँ
एकता भन्दा तेरो र मेरोमा खुशी छन्

प्रिन्स प्रकाश
सुनारपानी-९, रामेछाप
१८ भदौ २०६८

Thursday, September 1, 2011


गजल
सुन्‍ने हो कहानी के के गरिएन
हुँदा हो जवानी के के गरिएन

राम्रीलाई देख्दा जुधाएर आँखा
लगाउदै निशानी के के गरिएन

यसो उसो हुँदै परियो मायामा
नजानी नजानी के के गरिएन

रोजियो बुहारी मनले खाएकी
बाबाले नछानी के के गरिएन

बन्धनमा परेर बल्ल जिउन सिकेँ
बित्यो जिन्दगानी के के गरिएन

प्रिन्स प्रकाश (प्रकाश शाही)
सुनारपानी-९, रामेछाप
१४ भदौ, २०६८

Friday, July 1, 2011

गजल


चलेको छ जिन्दगी धोकैधोकामा
जलेको छ जिन्दगी धोकैधोकामा

पोल्नु पोल्यो यादका लप्काहरूले
बलेको छ जिन्दगी धोकैधोकामा

this gazal was written by Prince Prakash
पिरतीको उकाली चड्नै नसकी
ढलेको छ जिन्दगी धोकैधोकामा

भोगाइ सबै दु:खान्त चर्चा नराम्रो
गलेको छ जिन्दगी धोकैधोकामा

दुनियाको साथ बिना एक्लो वरझैँ
फलेको छ जिन्दगी धोकैधोकामा

कविता

कविता खै के कविता....?
त्यो बेला ,
मधुरो उज्यालोमा एकनाश
एकनाश हेरिरहेछु म,
एक मलिन चेहरालाई
अनि करबलले पनि निन्द्रा लाग्दैन
जरूर नजर त्यतै छ
फुङ्ग उडेको चेहरामा
मेरो मलिनतामा नैराश्यता देखिन्छ,स्पस्ट
तर ममा,
चिटचिट पसिनाले
मेरो कायाहरूमा खोलो बगाउछ,
उनी हजुरको भाषामा मेरो हाल सोध्छिन्
म जीवनको अन्तिम घडीमा छु
-आभाष हुन्थ्यो
म पीडा कम भएझै गर्थेँ
खुशीको संचार हुन्थ्यो उनमा
तर पनि ममा,
बिगतका यादका पोकाहरू खुल्दै गएछन्
स्मृतिका बगैचाहरू डुल्दै गएछ मेरो मन
अनि मेरो आँखाले टोलाएझै गरेछ
म कति तीता मिठा पलहरूमा,
अल्झिएछु, बल्झिएछु, सुल्झिएछु त कहीँ चुपचाप
यसरी त्यो घडीसम्म त
निकै इतिहास बनेछन्
निकै डायरी रचिएछन्
निकै कुरा गरिएछन्
निकै शब्द पोखिएछन्
तर यो आखिरी क्षणमा
किन यस्तो कुरा आउछ?
मनले मनलाई प्रश्‍न गर्छ-
यो तेरो अन्तिम घडीमा,
पाउने कुरा, लैजाने कुरा,
तँसँग भएको तँ मात्र होस्
मनले मनलाई भनेछ ।

उनको स्पर्श त घच्घच्याइले
मेरा आँखा उनको आँखामा
पर्न गएछ, मेरो आँखा कोल्टिएछ
बोल्न खोजेछु, बन्द भएछ बोली
कोल्टे फेर्दा एक ढिक्का आशु खसेछ
--
मनमनै भनेछ-
तिमीसँग रहँदा बस्दा
तीता मीठा गुन बैगुनका
धेरै भए होलान्
पीर नगर तीता र बैगून लाँदैछु मसँगै
मीठा क्षणहरू सम्झिरहनू।।
यति सोच्दा सम्म त
उनको आँखामा ढकनी लागेछ,
र त्यो पलमा
रातको मध्यान्तरसँगै
मेरो, तन्किदो शरीरले
उनलाई आशिर्वाद दिइरहेथ्यो
खुशीको, हाँसोको- मेरो अभावमा पनि ।
दीर्घायू बनोस् सुख
अनि म चीर निन्द्रामा पुगेछु त्यो रात.....
Prince Prakash

गीत - गजल
रूझेका यी आँखा ओभानो बनाएँ
तिम्रो मेरो कथा पुरानो बनाएँ

आफूखुशी लग्यौ तिमीले मेरो दिल
मुटु धेरै चोटी अचानो बनाएँ

बेमौसमी आँशु बलेसी कटाउन
आफ्नो घरको नयाँ यो छानो बनाएँ

म तिम्रो खुशीमा कहिले मर्दिन
अझ कसिलो यो भक्कानो बनाएँ

पिरतीको खेलमा हारेपछि मैले
आफूभन्दा आफैलाई सानो बनाएँ