Tuesday, August 15, 2023

शब्दाकार-भावना: मुक्तक

शब्दाकार-भावना: मुक्तक: मुक्तक मान्छेहरू बदलिन्छन् समयसँगै सोचहरू बहकिन्छन् समयसँगै अरे यार समय कुर्नु- तिमी बग्नु हो र त मान्छे आँत्तिन्छन् समयसँगै

Friday, February 14, 2014

हालत उही छ मेरो पनि
बिर्सनै पर्ने अप्ठेरो पनि 

छिचोल्नु तिमीले जिन्दगीको
उज्यालो पनि अधेरो पनि 

नेपाली धर्ती छातीमा राख्नु
नबिर्सनु सेरोफेरो पनि 

तिमीले पंछी भएर उड्नु
आखिर गुँड छोड्छ बचेरो पनि......
-prince prakash

Thursday, July 4, 2013

मुक्तक

मुक्तक
मान्छेहरू बदलिन्छन् समयसँगै
सोचहरू बहकिन्छन् समयसँगै
अरे यार समय कुर्नु- तिमी बग्नु हो
र त मान्छे आँत्तिन्छन् समयसँगै

Wednesday, May 23, 2012


कविता-“फर्केर हेर्दा डायरीका केही पेजहरु”
धेरै पछि आज पल्टाइरहेछु मनको अभ्यस्त डायरी
जहा, देखिइरहेछन्
शव्द भावमा चुर्लुम्म डुबेका
दर्जनभन्दा केही बढी
काचा अर्थात् 
अपरिपक्व पत्र बिन्यासहरु!!
थोरै हलुकिन्छ मन
आभासलाई कोल्टे फर्काउँछु
खोलीको सुख्खा बगरमा
चपली डाम सजाउँदै
उनको लेक- मेरो बेसी
मेरो बेसी-उन्को लेकसम्मका
  सुसज्जित यात्रात्मक मझेरीहरु!!
अर्को पेज पल्टाउछु
आश्चर्य लाग्छ,
म “प्रेमी” भइसकेको हुन्छु कसैको
हलक्क बढेका बासका मुनासरी
मेरा दुधे ओठहरुले
प्रेम फड्कार्न थालेको पाउछु
प्रेम बर्बराउन थालेको पाउछु
उनी पनि आफूजस्तै तन्नेरी भएको पाउछु
अर्को पेजभित्र
उनको भैलोमा 
भैलेनीको पगरी गुथी
कुसुमटारको फेदबाट 
केही घर भैलेनी नाची
सयपत्रीका केही झोक्काको 
प्रेमील आभास पिउदै
अरु भैलेनीवाट छलिए
र जुनकिरी बाल्दै
घरमुनीसम्म पुगेको 
कत्ति काइदाको दृश्य!!
अर्को पेजमा दौडिरहेछु म
घरै छेउबाट बिदाइ गर्छे मलाई ऊ
अब अरुकी नहुने कसम खादै
त्यसपछि तीन वर्ष छिमली 
म आफूलाई शब्दाकार पाउछु
बिलीनतापछि होसमा आएको “ध्यानी” झै
अर्को पेजमा,
म निसास्सिरहेछु
कुसुमटारको अन्तिम हासो बोकी
  ठिङंग उभिइरहेछे ऊ
सम्झन्छु त्यो चित्र जस्ताको तस्तै म
यस्तो लाग्छ- ऊ तामाजस्ती बढिसकी होली
तरुनी भइसकी होली
पुतलीजस्ती सुकुमारी भइ सायद !
तरपनि अभ्यस्त भेट !
कताकति हत्केलाहरु
तस्बीर सुम्सुम्याउन पुगिरहेछन्
त्यही तस्विर,
जुन उसले मलाई चैते दशैको मेलामा
उसको लेक जादा 
मलाई उस्को छातिमा टमक्क कसी
उपहार दिएथी-सम्झनाको-बिर्सनाको !!
ऊ थोरै काउकुतिएजस्तो लाग्छ
थोरै सर्माएजस्तो लाग्छ अनि लाग्छ 
उस्को जस्तै कलिलो जवानीको रहर मलाई
तर...............।।

दिनेशराज पुरी
सुनारपानी-९ रामेछाप

Sunday, September 4, 2011

गजल

गजल – या सो सरह
कोही छन् विलासी पजेरोमा खुशी छन्
कोही आफ्नै पाखा पखेरोमा खुशी छन्

उस्तै छ बिकटता कर्णाली र हुम्लाको
कति गाह्रो साह्रो अप्ठेरोमा खुशी छन्

शहरमा मेलम्ची नबग्ने भो कहिल्यै
उता गाउँको पानी पँधेरोमा खुशी छन्

यी हाम्रा नेता जी बेचैन छन् बिचरा!
तर जनता झुप्रो कटेरोमा खुशी छन्

हामी भन्दै आउने लखेटिन्छन् यहाँ
एकता भन्दा तेरो र मेरोमा खुशी छन्

प्रिन्स प्रकाश
सुनारपानी-९, रामेछाप
१८ भदौ २०६८

Thursday, September 1, 2011


गजल
सुन्‍ने हो कहानी के के गरिएन
हुँदा हो जवानी के के गरिएन

राम्रीलाई देख्दा जुधाएर आँखा
लगाउदै निशानी के के गरिएन

यसो उसो हुँदै परियो मायामा
नजानी नजानी के के गरिएन

रोजियो बुहारी मनले खाएकी
बाबाले नछानी के के गरिएन

बन्धनमा परेर बल्ल जिउन सिकेँ
बित्यो जिन्दगानी के के गरिएन

प्रिन्स प्रकाश (प्रकाश शाही)
सुनारपानी-९, रामेछाप
१४ भदौ, २०६८

Friday, July 1, 2011

गजल


चलेको छ जिन्दगी धोकैधोकामा
जलेको छ जिन्दगी धोकैधोकामा

पोल्नु पोल्यो यादका लप्काहरूले
बलेको छ जिन्दगी धोकैधोकामा

this gazal was written by Prince Prakash
पिरतीको उकाली चड्नै नसकी
ढलेको छ जिन्दगी धोकैधोकामा

भोगाइ सबै दु:खान्त चर्चा नराम्रो
गलेको छ जिन्दगी धोकैधोकामा

दुनियाको साथ बिना एक्लो वरझैँ
फलेको छ जिन्दगी धोकैधोकामा